September 25, 2017

सप्तरीमा सर्प दंशका घटनामा बृद्धि

दिनेश शर्मा / राजविराज, ९ साउन । अत्याधिक गर्मी र लगातारकाे बर्षातले हुने डुवानका कारण सप्तरी जिल्लामा सर्प दंशका घटनामा बृद्धि भइरहेका छन ।

विषालु सर्पले टोकेर आईतबार राती सप्तरीमा एक जना प्रहरी हवल्दार घाईते भएका छन्।प्रहरी चौकी फत्तेपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी हवल्दार रामबहादुर भुजेललाई सर्पले टोकेको हो ।

राती साढे ८ बजे शौचालय जाने क्रममा खुट्टाको औलामा सर्पले टोकेपछि उनलाई उपचारका लागि सर्प दंश केन्द्र पूर्वी पृतना ईटहरी पठाईएको छ । पछिल्लो समयमा सप्तरीमा सर्प दंशका घटना वृद्धि भएका छन् ।

बाढिको डुवान तथा चर्को घामका  कारण यतिवेला जिल्लामा सर्पको विगविगी छ । कटैया २ की ४० वर्षिया उम्दादेवी यादव, राजविराज १० की ७ वर्षिया चाँदनी यादव, वोरिया ७ की २८ वर्षया मालादेवी यादव, प्रसवनी ४ की ३ वर्षिया द्रौपदि मण्डललगायतका दर्जनौ मानिस सर्पदंशको शिकार भएका छन् ।

गर्मीयाम सुरु भएसँगै सर्पले टोकेर उपचार गराउन आउनेहरुको संख्या लगभग १ सय पुगेको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । अस्पतालको ईमर्जेन्सि शाखाका सिनियर अहेव जयकृष्ण गर्मैताका अनुसार यसरी उपचार गराउन आउनेहरुमा अधिकांश बालबालिका र बृद्धबृद्धा छन् ।

गर्मीयाम सुरु नहुँदा फाट्टफुट्ट रुपमा मात्रै देखिने यस्ता समस्या वर्षा गर्मी वढेपछि ह्वात्तै वढेको उनले जानकारी दिए। सप्तरीको कंचपुर स्थित स्वास्य केन्द्रमा पनि सर्पदंशको उपचार हुने गरेको र कतिपय विरामी ईटहरी स्थित नेपाली सेनाको उपचार केन्द्रमा पनि जाने गरेकाले सर्पको टोकाईवाट पीडित हुनेहरुको संख्या अझै वढि हुनसक्ने उनको अनुमान छ । सर्पदंशका घटना वृद्धि भएसँगै अस्पतालले एण्टि स्नेक भेनम औषधी पर्याप्त मात्रामा झिकाइएको छ ।