पहिरोले लार्चाको पुल बगायो, यातायात आवागमन अवरुद्ध

काठमाण्डाै, ९ साउन । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसीको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ ।

पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ढुङ्गासहित खसेको पहिरोले भत्काएको हो । पुलको बीच भाग भत्किएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पुलको बीचको भाग र पहिरोले केही समय भोटेकोसी थुनियो। पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किमि क्षेत्रमा यातायात पूरै रोकिएको छ । भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो । भूकम्प र भोटेकोसी बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ।