September 21, 2017

फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा

काठमाण्डौ, ९ साउन । मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को मागलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा ब्युताइने भएको छ ।

समग्र मधेस एक प्रदेशको मुद्दा ब्युताउन भन्दै माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ । शनिबार काठमाण्डौमा एक भेलाको आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरूसमेत छन् ।

यो संगठनमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साहलगायतका नेता छन् । यादवसँगै माओवादी केन्द्रका अर्का नेता गोपाल ठाकुरसमेत यो अभियानमा जुटेका छन् । ठाकुर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिमा समेत छन् । याे खबर राजधानी दैनिकमा छ ।