November 17, 2017

प्रत्येक नेपालीको टाउकोमा २४ हजार राष्ट्रिय ऋण

काठमाण्डौ, ९ साउन । प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/ ७४ मा सरकारका नाममा ६४ अर्ब २२ करोड ऋण थपिएको छ । अघिल्लो आव ०७२\७३ सम्म सरकारको कुल (वैदेशिक र आन्तरिक) ऋण ६ खर्ब २७ अर्ब ८० करोड थियो । यसमा ६४ अर्ब २२ करोड थपिएसँगै सरकारको कुल ऋण ६ खर्ब ९२ अर्ब दुई करोड पुगेको छ । यो रकमलाई केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार सन् २०१७ मा पुग्ने नेपालको जनसंख्या २,८८,७९,६३६ ले भाग लगाउँदा प्रत्येक नेपालीको टाउकोमा २३ हजार ९ सय ६२ रुपैयाँ ऋण पर्न जान्छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आव ०७२\७३ सम्म प्रत्येक नेपालीको भागमा २२ हजार एक सय ५९ रुपैयाँ ऋण थियो । सरकारले ०७३\७४ मा प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि सावाँ–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।