सवारी साधनलगायत सामग्री २४ घन्टाभित्र फिर्ता गर्न सचिव मैनालीलाई आयोगको पत्र

काठमाण्डौ, ९ साउन । निर्वाचन आयोगले तत्कालीन सचिव गोपीनाथ मैनालीले सवारी साधनलगायत सामग्री नबुझाएको भन्दै २४ घण्टाभित्र फिर्ता गर्न पत्राचार गरेको छ ।

आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएर मैनालीको जिम्मामा रहेको बा २ झ ४४९ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडी, ल्यापटप र मोबाइल फोन सेट (आइफोन सेभेन प्लस) फिर्ता पठाइदिने व्यवस्था मिलाउन आग्रह गरेको हो । सचिव मैनाली असार ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका हुन् ।

मैनालीले चढ्दै आएको बा १० च ८८०९ नम्बरको टेरियस गाडी असार १३ मा फिर्ता गरेको आयोगले जनाएको छ । पदाधिकारीसँग कुरा नमिलेपछि आयोगकै आग्रहमा सरकारले दोस्रो चरणको चुनावको पूर्वसन्ध्यामा मैनालीको सरुवा गरेको थियो । आयुक्तहरूले चाहेको सुविधासम्पन्न गाडी किन्ने विषयमा विमति राख्दा आफ्नो सरुवा गरिएको आरोप मैनालीले लगाएका थिए ।

उनले आयोगका पदधिकारीले एकभन्दा बढी प्रयोग गरिरहेको जनाउँदै थप गाडी किन्नुपर्ने आवश्यकतै नरहेको बताएका थिए। आयोगमा रहँदा उनी स्वयंले पनि दुईवटा गाडी प्रयोग गरेको देखिएको छ। आयोग पदाधिकारीले भने निर्वाचन व्यवस्थापन कार्यमा मैनालीबाट असहयोग भएकाले सरुवा गरिएको जनाएको थियो। मैनालीको सरुवापछि आयोगले प्रमुख निर्वाचन आयुक्त र चार जना आयुक्तका लागि ५ वटा विलासी गाडी किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।  याे खबर कान्तिपुर दैनिकमा छ ।