September 21, 2017

परराष्ट्रमन्त्री महराद्वारा आईएसओ सर्टिफिकेट सार्वजनिक

काठमाण्डाै, ८ साउन । गुणस्तर तथा नापतौल विभागले पहिलो पटक सरकारी कार्यालयलाई आईएसओ सर्टिफिकेट प्रदान गरेको छ ।

सेवाग्राहीलाई पारदर्शी, कुशल, उत्तरदायी शीघ्र र सुरक्षित सेवा प्रवाह गरेको भन्दै नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागलाई एनएस आईएसओ नौ हजार एक , दुई हजार पन्ध्र सर्टिफिकेट प्रदान गरेको हो ।राहदानी विभागमा आइतबार आयोजित एक कार्यक्रमकाबिच उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो सर्टिफिकेट सार्वजनिक गरेका छन् ।

कार्यक्रममा मन्त्री महराले विभागको काम सेवाग्राहीमुखी र कुशल भएका कारण प्रमाणपत्र पाएको बताए । सरकारी अड्डाको कुशलताको प्रोत्साहन स्वरुप नापतौल विभागले दिएको प्रमाणपत्रले काममा ढिलासुस्ती गर्ने अन्य अड्डालाई पनि सजक बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले यो सर्टिफिकेट विभागका लागि ठूलो उपलब्धी भएको र सेवालाई थप ग्राहकमैत्री र प्रभावकारी बनाउन चुनौती भएको धारणा राखेका हुन् ।