September 26, 2017

सप्तरीका २१ बाढी पीडित परिवारलाई घर बनाउन सरकारी सहयोग

दिनेश शर्मा / राजविराज, ८ साउन । असार दोश्रो साताको अविरल वर्षा र बाढीका कारण घरवार विहिन भएका सप्तरीका २१ परिवारले घर बनाउन सरकारी सहयोग पाउने भएका छन् ।

असार २४ गते बाढीको क्षति बारे स्थलगत अवलोकन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवाको घोषणा अनुसार उक्त सहयोग वितरण गर्न लागिएको हो । सप्तरीको पुर्वि क्षेत्र अन्तर्गत तिरहुत गाउँपालिकास्थित महुली खोलाले भत्काएको बाँध तथा बाढी प्रभावित अन्य विभिन्न स्थानको अवलोकनपछि प्रधानमन्त्री देउवाले बाढीका कारण घर भत्कीएका हरेक परिवारलाई घर वनाउन २५ हजार दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणापछि असार २५ गते वसेको मन्त्रीपरिषद वैठकले समेत बाढीका कारण घर भत्किएकालाई राहतस्वरुप टहरा निर्माण गर्न १५ हजार र जस्तापता खरिद गर्न १० हजार दिने निर्णय गरेको थियो । जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक तथा सिडिओ कृष्णवहादुर कटवालका अनुसार प्रधानमन्त्रीले राहत घोषणा गरेपछि वास्तविक पीडितको आधिकारीक तथ्यांक संकलन गर्न गठित समितिको प्रतिवेदनका आधारमा उक्त रकम वितरण गर्न लागिएको हो । बाढि आएको समयमै पहिलो चरणमा सवैलाई ५ – ५ हजार रुपैयाँ उपलब्ध गराई सकिएको र दोश्रो चरणमा २० – २० हजार रुपैयाँ उपलब्ध हुने उनले बताए ।

प्रतिवेदन अनुसार बाढिले कंचनरुप नगरपालिका स्थित रघुनाथपुरमा ५, रायपुरमा २, मलेठमा २ तथा सकरपुरामा २ घर पुर्ण रुपमा क्षति भएका छन् भने बाढी प्रभावित विभिन्न स्थानमा गरी ७ सय ४२ घर आंशिक रुपमा क्षति भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवको संयोजकत्वमा गठित समितिले बाढी प्रभावित कञ्चनरुपको रघुनाथपुर, मैनाकडेरी, पोर्ताहा, मलेठ, सकरपुरा, लौनिया, तिलाठी र राजविराज १ को डुमरी शिवथानको स्थलगत अवलोकन गरी क्षतिको विवरणसहितको प्रतिवेदन बुझाएको हो ।