August 20, 2017

भलिबलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल अाउदै

काठमाण्डाै, ८ साउन । नेदरल्याण्डका विश्वस्तरिय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आउने भएका छन् । विजल अन्तराष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपालमा भलिबल खेलको विकास गर्ने उद्धेश्यले नेपाल आउन लागेका हुन् ।

उनले नेपाल बसाईको क्रममा नेपाली पुरुष भलिबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् । उनका साथै फिभका विकास सदस्य तथा नेदरल्याण्ड भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेल समेत नेपाल आउने कार्यक्रम रहेको छ ।
विजलको भ्रमणको व्यवस्थापनका क्रममा नेदरल्याण्ड भलिबल संघले उनको आतेजाते हवाई टिकट व्यहोर्ने छ भने फिभले नेपालमा प्रशिक्षण गर्दाको पारिश्रमीक व्यहोर्ने नेपाल भलिबल संघले जनाएको छ । यस्तै नेपाल भलिबल संघले उनको नेपाल बसाईको क्रममा खाना तथा बसोबासको व्यवस्था गर्नेछ ।
विजल नेपाल र बंगलादेशविच भदौ १३ र १४ गते आयोजना हुने मैत्रीपूर्ण खेल सम्म नेपालमा बस्ने कार्यक्रम रहेको छ । नेपाल बसाईकै क्रममा विजलले पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जानकारी गराएको छ ।