अायल निगमको जग्गा खरिदमा करोडौकाे भ्रष्टाचार, लालपूर्जा हत्याउन भलवारी डिपोका कर्मचारीकाे मालपोतमा ताकेदा

नरेश केसी / भैरहवा, ७ साउन । रुपन्देहीमा पेट्रिलियम पदार्थ भण्डारण केन्द्र स्थापना गर्नका लागि किनिएको जग्गामा व्यापक भ्रष्टाचार भएको भनि विवाद उत्पन्न  भएकाे जग्गाकाे लालपूर्जा हत्याउन अायल निगमकाे टोली जिल्ला मालपोत कार्यालय भैरहवामा दौडधुप गरिरहेको छ ।

रोहिणी खोलो हिडिरहेको जग्गा हाल साविक समेत नगरी नेपाल आयल निगमको नाममा असार २८ गते अबैध ढंगले रातारात पास भएको थियो । तर मालपोतले भने आयल निगमको विभागको पत्र नभएसम्म पुर्जा नदिने बताएको छ । पुर्जा लिनकोलागी भलबारी डिपोबाट कर्मचारीहरु बारम्बार मालपोत आइरहेको बुझिएको छ ।
मन्त्रालय, आयल निगमका उच्च अधिकारी सहित लेखन्दास सम्मले करोडौंको आर्थिक लेनदेनगरी कामै नलाग्ने जग्गा खरिद गरिएको भन्दै ब्यापक विरोध भएको छ । सो जग्गामा आयल निगमको भण्डारण केन्द्र राख्ने भनिएको छ । खोलो हिडीरहेको जग्गा आयल निगमका अधिकारी, मालपोत, स्थानिय प्रशासनको मिलोमतोमा किनबेच भएको हो ।

सो जग्गा किन्नकोलागी काठमाण्डौंदेखी आएका जग्गा दलालहरु सुरेश घिमिरे, कोमुद ढुंगाना, विश्वास अधिकारी, हरि प्रसाद पोखरेल भैरहवा स्थित होटल निर्वाणाको १ सय ५ नम्बर कोठामा बसेर मुख्य कारोबार गरेका थिए ।
खोलो किनबेचमा नवलपरासीका हर्षभर सहितको समुह पनि सक्रिय पुर्वक लागेको थियो । स्थानिय व्यक्तिको नाममा जग्गा भएको भएतापनि हाल साविक गर्दा सो जग्गा खोलोमा पर्ने देखिन्छ । हालसाविकमा सार्वजनिक जग्गा, बाटो र खोलोले जहा जहां चर्चेको छ त्यहां सोही अनुसार कायम गर्दै आएको छ ।

हाल साविक नगरिएको जग्गा जिल्ला मालपोतले माथिको आदेशको भरमा पास गरेको कार्यालयका प्रमुख शिव प्रसाद रेग्मी बताउंछन् । जब की सामान्य मान्छेको जग्गा हालसाविक नभएसम्म किनबेच हुदैन ।
यता आफ्नो गाउपालिका अन्तरगत पर्ने उक्त जग्गा गाउँपालिकालाई जानकारी नै नगराई किनबेच भएकोप्रति रोहिणी गाउँपालिकाका जनप्रतिनीधिले कडा आपत्ति जनाएका छन् ।

उक्त गाउँपालिकाका वार्ड अध्यक्ष सरोज कुमार पाण्डेले जग्गाको किनबेचमा दलालहरुले सिंगो देशलाई नै ठगेको कडा प्रतिक्रिया दिए । उनले भने “एकातिर खोलाको बगरमा आयल निगमको भण्डारण बनाइनु नै बैज्ञानिक हुदैंन । अर्कोतिर साढे ३ लाखमा दलालले जग्गा खरिद गरेर पौने ११ लाखमा आयल निगमका बेच्नु सिधैं देशलाई ठग्नु बराबर हो । यहां सरासर गैरकानुनी काम भएको छ । गाउपालिकाले एक्सन लिन्छ । ”

संसदको अर्थसमितीले पनि यस विषयमा चासो राख्दै छानविन गर्न सांसदहरु सम्मिलित उपसमिती नै गठन गरेको छ । १५ दिनको कार्यदेश पाएको उक्त समिती केही दिनमै रुपन्देहीमा आइ छानविन गर्ने समितीका सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

जग्गा खरिद सम्बन्धमा हिमालय टिभीले प्राइम स्टोरी नै प्रसारण गरेको थियो त्यसपछि संसदीय टोली र स्थानिय गाउँपालिकाले चासो दिई यस विषयमा अनुसन्धान थालेका छन् ।