पुष्पलालको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै, ७  साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकाे ३९ औँ स्मृति दिवस शनिबार  विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थियो । विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारी श्रेष्ठका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए ।

पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाइ हुन । उनले स्थापना गरेकाे कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागि रहेका  थिए ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका थिए । पुष्पलालको निधन विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा  भएको थियो ।