September 25, 2017

डिआइजी र एसएसपी बढुवाविरुद्ध उजुरी

काठमाण्डाै, ६ साउन । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी) तथा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस विरुद्ध उजुरी परेको छ ।

डिआइजी बढुवामा अन्याय भएको भन्दै एसएसपी सुभाषचन्द्र चौधरीले उजुरी गरेका हुन् । मंगलबार उनले उजुरी सुन्ने समितिसमक्ष पुनरावेदन माग गरेका छन् । जुनियर एसएसपीलाई बढुवा गरेर आफूलाई नियतवश बढुवा हुनबाट वञ्चित गरेकाले उजुरी गरेको एसएसपी चौधरीले बताए ।

‘बढुवामा परेका जुनियरभन्दा म तीन वर्षले सिनियर छु,’ उनले भने, ‘वरिष्ठताबापत मात्र साढे सात नम्बर बढी हुन्छ, म छुट्नुपर्ने कारण नै छैन, नियतवश बढुवाबाट वञ्चित गरेकाले न्याय माग्न उजुरी गरेको हुुँ,’ उनले भने । पुनरावेदन समितिबाट न्याय नपाए आफू अदालत जाने उनको भनाइ छ ।

चौधरी अञ्चल प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् । गृहसचिव लोकदर्शन रेग्मी अध्यक्षताको बढुवा समितिले शनिबार १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरेको थियो ।एसएसपी बढुवा सिफारिसविरुद्ध एसपी विभूतिराज पाण्डेले पनि उजुरी दिएका छन् । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।