September 23, 2017

काठमाडौंमै बसेर कर्णालीको जागिर र दुर्गम भत्ता !

जुम्ला, ६ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाण्डौ गए ।

अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमाण्डौतर्फ लागेको एकसाता नबित्दै रजिष्टार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राध्यापक डा. मोदनाथ मराठालाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाण्डौतर्फ लागे । तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन । प्रतिष्ठानको जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो ।

विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाण्डौकेन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिका रीविहीन छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपर्ने हो । तर, यहाँका पदाधिकारीले काठमाण्डौ स्थित सम्पर्क कार्यालयमा बसेर तलब मात्र खाँदैनन्, दुर्गम भत्तासमेत असुल्ने गरेका छन् ।

कर्णालीमा बसेर जनतालाई सेवा दिन खटिएकाहरु काठमाण्डौमा बसेर तलबभत्ता बुझ्नेक्रम बढेपछि स्थानीय असन्तुष्ट बनेका छन् । कर्णालीको नाम लिएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत पदाधिकारीमा देखिएको स्थानीयको आरोप छ । याे खबर नागरिक दैनिकमा छ ।