स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापन गर्न संसदीय समितिकाे सरकारलाई निर्देशन

काठमाण्डाै, ५ साउन । संसदीय समितिले सबै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काम छिटो गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको व्यबस्थापिका संसद अन्तर्गतको बिकास समिति बैठकले शैक्षिक जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले शैक्षिक जनशक्ति व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरु रहेको समन्वयात्मक कार्यदल बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय तहमा गुणस्तरीय शिक्षा दिने गरी जनशक्ति व्यवस्थापन गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई सचेत गराएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए । बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले शैक्षिक जनशक्ति व्यवस्थापनका देखिएको समस्या समाधानका लागि मन्त्रालय तयार भएपनि यसमा शिक्षा मन्त्रालयको समन्वयकाे खाचो हुने बताए ।

बैठकमा शिक्षा मन्त्रालयका अधिकारीहरुले शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगरेको दावी गरेका थिए । समिति सदस्यहरुले भने कार्यदल नै बनाएर जनशक्तिको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका थिए ।