October 24, 2017

नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाको आन्दोलन घोषणा

काठमाण्डौ, ३१ चैत्र । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले दलीय चुनाव चिन्हको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

नयाँ शक्ति पार्टीको कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने जनाएको छ । त्यस्तै वैशाख २ गते ६८ दलीय मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले नै रिले अनसन सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै आफ्ना मागप्रति गम्भीर नभए प्रधानमन्त्री निवास, संसद भवन लगायत घेराउ गर्ने मोर्चाले बताएको छ । त्यस्तै ६८ दलीय मोर्चाले निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने पनि निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी संयोजक डाक्टर बाबुराम भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएकोमा विराेध गरेका छन । चुनाव हुनुभन्दा पहिले नै दलहरुको मूल्याङ्कन गरिनु गैरव्यवहारिक कुरा भएको उनको भनाइ छ ।

भट्टराईले आफूहरुको आन्दोलनले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्ने धारणा व्यक्त गरे । दलीय चुनाव चिन्ह नदिने सरकारको निर्णयले मुलुकलाई अनिर्णयको बन्दी बनाउने मोर्चाको ठहर छ ।