August 20, 2017

 १९ वर्षमुनिको विश्वकप छनौटमा,अफगानिस्तानसँग नेपालको हार

काठमाडौं,५ साउन । आइसीसी  १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले प्रतियोगिताकै बलियो टिम मानिएको अफगानिस्तानसँग १ सय ४१ रनले लज्जास्पद हारहार व्यहोरेको छ ।

सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको चुनौती दिएको थियो ।  नेपालले २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भयाे ।सधैँ झैँ नेपाली टिममा देखिएको ब्याटिङमा रहेको समस्या आज पनि देखियो । जवाफी ब्याटिङमा उत्रेको नेपालको ब्याटिङ स्कोर ५० रन पनि कटेन ।

नेपालका लागि पवन शर्राफले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपालका ४ जना ब्याटस्म्यान शुन्य मै आउट भए । बलिङतर्फ नेपालका लागि शाहब आलमले सर्वाधिक ३ विकेट लिए भने, सन्दिप लामिछाने र पवन शर्राफले २, २ विकेट तथा किशोर महतो, दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए ।

अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ ।