September 23, 2017

सप्तरीका एसपी भन्छन : ‘भ्रष्टाचार, तस्करी, गुण्डागर्दीको अन्त्य गरेरै छाडछु’

दिनेश शर्मा / राजविराज, ५ साउन । सप्तरीका एसपी मनोजकुमार सिंहले तत्कालै सरुवा भई अन्यत्र जानु पर्ने अवस्था नआए सप्तरीवाट भ्रष्टाचार, तस्करी, गुण्डागर्दी लगायतका विकृति र विसंगतीको जालो अन्त्य गरेर जाने प्रतिवद्दता व्यक्त गरेका छन ।

एसपी अनुराग द्विवेदी प्रधान कार्यालयमा तानिएपछि सिन्धुलीवाट सरुवा भई आएको चौथो दिन जिल्ला प्रहरी कार्यालयमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनले यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन् ।

आर्थिक अनियमितता, ढिलासुस्ती, चोरी–तस्करी, गुण्डागर्दी, हतियार ओसार–पसार, चेलिवेटी वेचविखन, लागु औषधको ब्यापार लगायतका विकृति र विसंगतीले सप्तरी मात्र नभई देशब्यापी रुपमा जालो बनाएको बताउँदै उनले सप्तरीमा रहुन्जेल त्यस्ता गिविधिको अन्त्यका लागि नै आफुले काम गर्ने बताए ।

भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्वीत महानिर्देशक चुँणामुनि शर्माको उदाहरण दिदै एसपी सिंहले कुरा आदर्शका गर्ने तर ब्यवहारमा भने अत्यन्तै निकृष्ट रुपमा प्रस्तुत हुने गर्दा नै मुलुकपछि परेको दाबी गरे ।

‘आफुलाई आदर्शवान भन्ने र अरुलाई पनि अर्ति उपदेश दिने एक जना कर्मचारी भ्रष्टाचारको आरोपमा यतिवेला प्रहरी हिरासतमा छन्’ उनले भने–‘बोले अनुसार १० प्रतिशत मात्रै पनि ब्यवहारमा देखाई दिएको भए अहिले उनको अवस्था त्यस्तो हुँदैनथ्यो ।’

प्रहरी संगठनलाई जनताको संगठन बनाउन आफुले काम सुरु गरिसकेको जानकारी दिदै उनले जिल्लाभरीका ईलाका र चौकीका ईन्चार्जलाई भेला गरी प्रहरीको दायित्व र जिम्मेवारीका विषयमा सम्झाएर पठाएको पनि बताए ।

‘मेरै संगठन पनि इमान्दार छ भनेर भन्दिन, तर  अब त्यस्तो नहोस भन्नेमा म सजग छु’ सिंहले भने–‘जनताको ईच्छा, चाहना र हित बिपरितका काममा प्रहरीको संलग्नता पाए उसलाई ठिक पार्ने प्रयास गर्छु, नसके प्रकृयागत सम्वन्धित स्थानमा पठाउँछु।’

प्रहरी संगठन जनताकै लागि काम गर्ने संगठन भएकाले सहि काम गर्दा लुकाउनु पर्ने कुनै पनि कुरा आफुसँग नभएको भन्दै उनले पारदर्शीता, ईमान्दारीता, कर्तब्य पालना र सहज सेवा विस्तारका लागि आफुले काम गर्ने बताए ।

प्रहरी संगठनमा आफुले ईमान्दारिताको पहिचान बनाउन चाहेको बताउँदै उनले त्यसलाई कुराले भन्दा पनि काम गरेर पुष्टि गर्ने बताए । ‘मलाई घुस्याहा एसपी हुनवाट जोगिने वातावरण दिनोस’ एसपी सिंहले भने–‘आउँदा जसरी आएँ, जाँदा त्यसैगरी रित्तो झोला लिएर जान पाउँ ?’