September 25, 2017

सडक ठेकेदारहरुलाई मस्ती, कामै नगरी करोडौं भुक्तानी

काठमाण्डौ,५ साउन । काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ ।

मापदण्डविपरीत बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएर ठेकेदारलाई करोडौं रकम भुक्तानी गरेको हो । आयोजनाले युनाइटेड बिल्डर्स, दिवा/शैलुङ जेभी, आशिष/सिएम जेभीलगायत ठेकेदार कम्पनीलाई सडकको कामै नगरी ११ करोड २४ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना विस्तारित सडक तथा पुलहरुको प्रगति विवरण शीर्षकको प्रतिवेदनमा उनीहरुले जिम्मा पाएका सडकको भौतिक प्रगति शुन्य उल्लेख छ । आयोजनाले युनाइटेड बिल्डर्स निर्माण कम्पनीलाई चाबहिल-वाग्मती पुलसम्म ३.६ किलोमिटर सडक विस्तारको जिम्मा २०७२ असोज १३ गते दिएको थियो ।

कम्पनीले सम्झौताअनुसार २०७४ फागुन १४ गते निर्माण सम्पन्न गरिसक्नुपर्छ । तर, अहिलेसम्म कामको प्रगति शुन्य छ । सडकको अवस्था असारे खेतजस्तो छ । कामै नगरीकन पनि निर्माण कम्पनीलाई ४ करोड ३७ लख रुपैयाँ भुक्तानी दिइएको छ । यस्तै अन्य कम्पनीहरुले पनि कामै नगरी करोडौं भुक्तानी पाएका छन् । याे खबर नागरिक दैनिकमा छ ।