स्थानिय चुनाव हार्नुको मुख्य कारण कमजोर सँगठन : कमल थापा

काठमाण्डौ, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन ।
बुधबारबाट काठमाडौमा सुरु राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन ।

उनले हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर राप्रपाको बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा उदय भएको बताउदै हिन्दुराष्ट्र विरोधी र नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर  राष्ट्रिय र अन्तराष्ट्रिय गिरोह योजनावद्ध रुपमा राप्रपाबिरुद्ध लागेकाे  आरोप लगाए ।

पार्टी अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै थापाले राप्रपाले अवलम्वन गरेका विचार र नीतिको पक्षमा बलियो जनमत रहेको भन्दै  त्यो जनमतलाई भोटमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको तीतो यथार्थलाई स्वीकार गर्नुपर्ने उल्लेख गरे ।
सरकारमा सहभागिताबारे पनि पार्टीमा विवाद रहेको स्वीकार गर्दै थापाले केन्द्रीय समितिको बैठकमा छलफल गर्न प्रस्ताव अघि सारेका छन । केन्द्रीय कार्यसमितिको बैठकमा राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा अनुउपस्थित थिए भने कार्यसम्पादन बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने केन्द्रीय समितिको बैठकमा उपस्थित भएका थिए ।