Breaking News

भक्तपुर अस्पतालमा सामान राख्ने ठाँउको अभाव

भक्तपुर, ४ साउन । केन्द्रिय अस्पतालको मान्यता पाएकाे भक्तपुर अस्पताल स्थान र मानवसंसाधनको कमीकै कारण अहिले अवस्तव्यस्त अवस्थामा रहेकाे छ ।

राजनीतिक हस्तक्षेप र सरकारवाला निकायको ध्यान पुग्न नसक्दा भक्तपुर अस्पताल आफै रोगी बनेको छ । उपत्यकाभित्रको यो अस्पतालमा हुने बिभिन्न खालका चलखेलकै कारण बिरामीहरुलाई जति मात्रामा सेवा दिनु पर्ने हो त्यसो हुन सकेको देखिँदैन । भक्तपुर अस्पतालको आइसियु सञ्चालनका लागि आएका सामानहरु समेत स्थानको अभाव र मानवसंसाधनको कमीकै कारण अलपत्र अवस्थामा रहेको अस्पतालका प्रमुख डा. सुधा देवकोटाले जानकारी दिए ।

करोडौंको सामान अस्पतालसँग रहेता पनि डाक्टहरुको अभावकै कारण सामानहरु थन्किरहेको उनले बताए । केन्द्रिय अस्पतालको मान्यता प्राप्त भक्तपुर अस्पतालको सुधारका लागि सबै भन्दा पहिला तोकिए अनुसारको दरबन्दिका चिकित्सकहरु उपलब्ध नहुनुनै प्रमुख समस्या रहेको र सो बारे मन्त्रालयलाई बारम्बार जानकारी गराउँदा समेत सुनवाई नहुँदा काम गर्न अप्ठेरा परेको उनले बताए ।

डा. देवकोटाले भक्तपुर अस्पतालमा काम गर्ने डाक्टरहरु हाल अस्पतालको समयमा बाहिर गएर काम गर्ने प्रथा अन्त्य भएको भन्दै अस्पतालमा दिइएको दरबन्दि अनुसारको डाक्टरहरु उपलब्ध भए अस्पतालले बिरामीहरु अन्यत्र पठाउनु पर्ने बाध्यता नरहने बताए । अस्पतालमा आवश्यक डाक्टरका साथै नर्सहरुको समेत अभाव रहेकाले अस्पतालले मन्त्रालयलाई सबै जानकारी गराई सकेको र यसबारे सुनवाई भए भक्तपुर अस्पतालले समेत चुस्त र दुरुस्त सेवा दिन सकिने डा. देवकोटा भनाइ रहेकाे छ ।

shares