राजपाका माग तीन दिन भित्र पुरा गर्ने सत्तारुढ दलकाे प्रतिबद्धता

काठमाण्डौ, ४ साउन । सत्तारुढ दलहरुले राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले राखेका संविधान संशोधनबाहेकका मागहरु ३ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा अाज बसेको सत्तारुढ दल र राजपाका शिर्ष नेताहरुबिचको बैठकमा अन्य माग पुरा भएपछि मात्र संशोधनको विषयलाई अघि बढाउने सहमति पनि भएको छ ।

राजपाले संविधान संशोधनका अलावा आन्दोलनका क्रममा मारिएका सबैलाई सहिद घोषणा, अंगभंग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेका सबैको रिहाइ तथा मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग अघि सार्दै आएको छ ।

बैठकमा राजपा नेताहरुले प्रतिबद्धताअनुसार माग पूरा गर्न भन्दै त्यसपछि बाँकी विषयमा छलफल हुने जवाफ दिएका थिए । बैठकपछि कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधनबाहेकका मागहरु ३ दिनभित्र पूरा गर्ने सहमति भएको जानकारी दिए ।

बैठकमा सत्ता पक्षले आवश्यक दुई तिहाई बहुमतको अभावमा तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेपनि यसबारे छलफल जारी राख्ने राजपा नेपाललाई जानकारी गराएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको बताए । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष ठाकुरलगायत नेताहरु उपस्थित थिए ।