प्रदेशको आवश्यकता अनुसार पृत्तनापतिको संख्या थप्न सकिने रक्षामन्त्रीकाे भनाई

काठमाण्डौ, १३ वैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तनापति राखिने र प्रदेशको आवश्यकता अनुसार पृत्तनापतिको संख्या थप्न सकिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँणले मुलुक संघीय संरचनामा गइसकेकोले नेपाली सेनालाई पनि संघीय संरचना अनुसार नै ७ वटै प्रदेशमा उपस्थिति गराउने बताए । यद्दपी संघीय प्रदेश अनुसार सेनाको संरचना बने पनि सेन्ट्रल कमाण्ड अनुसार नै सेना रहने मन्त्री खाँणले जानकारी दिए ।

उनले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली सेना ब्याक लाईनमा खटिने बताए । त्यस्तै मन्त्री खाँणले संसदमा पेश भएको परिमार्जन सहितको नयाँ संशोधन विधेयक राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनको लागि नै ल्याइएकोले दुई तिहाईले पारित हुने विश्वास व्यक्त गरे ।

मन्त्री खाँणले स्थानीय तहको निर्वाचन भएपछि जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दाबी पनि गरे । उनले काँङ्ग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाए ।