यसरी गरियो मन्त्रालय भागबण्डा, मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा

काठमाण्डौ,४ साउन । लामो रस्साकस्सी पछि प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले मंगलबार मन्त्रालय भागबण्डा गरेका छन् ।

तर कांग्रेसभित्रको किचलो र राजपासँगको ‘निर्णय’ बाँकी रहेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रालयमा कुरा मिले पनि सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लागेको छैन । मन्त्रीहृ छान्ने विषयमा सत्ताघटक पार्टीभित्रै किचलो छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा मंगलबार मन्त्रालयको भागबण्डा लगाइएको हो ।

कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिनेगरी भागबण्डा टुंग्याएको बताए । भागबण्डा अनुसार कांग्रेसले अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिँचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र बालबालिका तथा समाजकल्याण मन्त्रालय पाउने भएको छ । यस्तै माओवादी केन्द्रले परराष्ट्र, गृह, सहरीविकास, स्वास्थ्य, उर्जा, कानुन, पशुपक्षी, कृषि र आपूर्ति मान्त्रालय पाएको छ ।

विजयकुमार गच्छदारनेतृत्वको लोकतान्त्रिक फोरमले स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार मन्त्रालय पाएको छ । यस्तै राप्रपालगायत साना दलले शान्ति, उद्योग, वन र विज्ञान मन्त्रालय पाएका छन् । नेकपा संयुक्तलाई वातावरण मन्त्रालय दिइएको छ । मन्त्रिपरिषद् विस्तार बुधबारै गर्ने या केही दिनपछि भन्ने राजपाले दिने निर्णयमा भर पर्ने निधिले जानकारी दिए । उनका अनुसार संसदीय प्रक्रियामा अल्झिएको संविधान संशोधन प्रस्ताव पारित नहुने अवस्थामा पनि निर्णयमा लैजान राजपा तयार भए मन्त्रिपरिषद् विस्तार अझै पर धकेलिने छ । याे खबर कान्तिपुर दैनिकमा छ ।