राजविराज हटियामा ठेकेदारले वैठकी कर ३ सय प्रतिसत असुलेपछि ब्यापारीहरु अान्दोलित

दिनेश शर्मा /राजविराज, ३ साउन । ठेकेदारले नगरपरिषदबाट पारित भन्दा झण्डै ३ सय प्रतिसत वढी कर असुलेपछि राजविराजका हटिया ब्यापारीहरु अान्दोलनमा उत्रिएका छन ।

ठेकेदारले ब्यापारीहरुसँग मनपरी कर असुल गरिरहँदा नगरपालिका कार्यालयले कुनै सुनुवाई नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।  ठेकेदार र नगरपालिका कार्यालय विरुद्ध मंगलवार हटियामै पत्रकार सम्मेलन गरेका साना तथा मझौला ब्यवसायीहरुले तोकेको दररेट भन्दा दुईदेखि तीन गुणासम्म बढि कर असुली गरेर ठेकेदारले ठगि गरिरहेको गुनासो गरे ।

तोकेभन्दा बढि कर नतिर्ने भन्दै कतिपय ब्यापारीले प्रतिवाद गर्न थालेपछि ठेकेदारले प्रहरीको डरत्रास देखाएर रकम उठाईरहेका छन् ।

चिया पसले चन्द्रकला मण्डलले फुटपाथे चिया पसलेका लागि नगरपालिकाले दैनिक २५ रुपैयाँ दस्तुर तोकेपनि ठेकेदारले आफुसँग दैनिक ५० रुपैयाँ लिने गरेको दुःखेसो गर्दै यसको अनुगमन र छानविन गरी कारवाही गर्नु पर्ने माग गरेकी छिन् ।

ठेकेदारले पानी पुरी वेच्ने पसलवाट २० को सट्टा ३० रुपैयाँ, कपडा पसलवाट ५० को सट्टा १ सय ५० रुपैयाँसम्म रकम असुल गरिरहेको बताउँदै मनिहारी, ढाकी, चट्टिदार, लहठी, पात, सनपाटको डोरी, माटोको भाडो वेच्ने फुटपाथे पसल लगायतका हरेक पसलमा फरक–फरक दरमा दुई गुणादेखि तीन गुणासम्म बढि रकम उठाईरहेको ब्यापारीले जानकारी दिएका छन् ।

बैठकी करका नाममा ठेकेदारले उठाईरहेको ‘दादागिरी कर’ नियन्त्रणमा नगरपालिका कार्यालयले वेवास्ता गर्नुले कर्मचारीको समेत मिलेमतो देखिएको उनीहरुको आरोप छ ।

नियम कानुन पालना गर्न सिकाउने नियकायहरुवाटै नगरपरिषदको निर्णय लत्याएर भईरहेको यस्तो अनुचित रकम असुली तत्काल नरोकिए नगरपालिका कार्यालयमा तालावन्दी गर्ने ब्यापारीहरुले चेतावनी दिएका छन् ।

हटिया निवासी रमेश गोश्वामीले भने–‘नगरपालिका कार्यालय मौन वसेकाले ठेकेदारको मनपारी वढेको हो, यसलाई नियन्त्रण गरिएन भने कार्यालयमा तालावन्दी गर्न हामी वाध्य हुन्छौं ।’

भारतको गुलावी शहरका नामले परिचित जयपुरको नक्साका आधारमा टाउन प्लानिङ्ग गरी वसाईएको राजविराज नगरपालिकाको हटियालाई पनि नगरपालिका कार्यालयले ब्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै पत्रकार सम्मेलनमा ब्यापारीहरुले गुनासो गरेका छन् ।

उनीहरुका अनुसार विभिन्न नाममा कर संकलन गर्ने कार्यालयले हालसम्म हटिया क्षेत्रमा खानेपानीको समेत ब्यवस्था गर्न सकेको छैन । ढल तथा पसलहरुवाट निस्कने पानी तथा अन्य विभिन्न खाले फोहोर ब्यवस्थापनमा समेत नगरपालिका उदासिन देखिएको बताउँदै उनीहरुले माछा बजारमा रहेको एक मात्र सार्वजनिक शौचालयमा समेत मनपरी शुल्क उठाएर नगरपालिकाले नै सर्वसाधारणलाई खुल्ला शौचका लागि वाध्य पारिरहेको बताए ।

‘टाढा–टाढावाट किनमेल गर्न आउने सर्वसाधारणले शौचालय प्रयोग गरे वापत अनुचित रकम तिरिरहेका छन्’ ब्यापारी शंकर साहले भने–‘पिसाव गरेको शुल्क ५ रुपैयाँ उठाउन थालेपछि कस्ले शौचालय प्रयोग गर्छ ?’ यता, राजविराज नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेश यादवले भने ठेकेदारको मनपरी कर असुली देखि हटियाको अस्तब्यस्तताका विषयमा आफुलाई जानकारी नै नभएको प्रतिकृया दिएका छन् ।

उनले नगर परिषदवाट पारित दररेट भन्दा ठेकेदारले वढि रकम असुल गरेको पाईए नियमानुसार कारवाही गरिने र त्यसलाई नियन्त्रण गर्ने उपाय खोजिने बताए ।