September 23, 2017

एक वर्षभित्र अावास नबनाउनेले अनुदान नपाउने

काठमाण्डौ, ३ साउन । चालू आर्थिक वर्षभित्र निजी आवास निर्माण नगर्ने भूकम्पपीडितलाई सरकारले अनुदानबापतको रकम नदिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानबापतको सबै रकम ०७५ को असार मसान्तभित्रमा लिइसक्नुपर्ने व्यवस्था गरेको हो । त्यसपछि भने प्राधिकरणले भूकम्पपीडितलाई अनुदानबापतको कुनै पनि रकम दिनेछैन । सरकारले भूकम्पपीडितको निजी आवास निर्माण गर्न प्रतिघर तीन लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।

प्राधिकरणका सहायक प्रवक्ता डा. भीष्म भुसालले ०७५ पछि प्राधिकरणको निर्धारित काम सकिने भएकाले त्यसपछि अनुदानबापतको रकम दिन नसकिने बताए । उनले भने, ‘प्राधिकरणको समयावधि निर्धारित छ । ०७५ असार मसान्तसम्म पुनर्निर्माणको काम सक्नुपर्नेछ । त्यसो हुँदा अनुदानबापतको रकम पनि त्यही समयावधिभित्र लिइसक्नुपर्नेछ। त्यसपछि प्राधिकरणले अनुदान रकम वितरण बन्द गर्छ ।

‘ निर्धारित कार्यतालिकाअनुसार पहिचान भएका सबै लाभग्राहीले आगामी कात्तिक मसान्तभित्र पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिइसक्नुपर्नेछ । यस्तै चैत मसान्तभित्र दोस्रो किस्ता र आगामी असार मसान्तभित्र अन्तिम किस्ताको रकम लिइसक्नुपर्नेछ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।