November 18, 2017

बुधबारसम्म सरकार विस्तारको तयारी

काठमाण्डौ, ३ साउन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् ।

मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक-दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ ।‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।

सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ । उनका अनुसार मंगलबार बिहानैबाट कार्यदल बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउनेछन् ।कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घण्टा चलेको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । ‘हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ,’ उनले भनिन्, ‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।