July 26, 2017

कर फर्छ्यौट आयोग ऐन तत्काल खारेज गर्न निर्देशन

काठमाण्डौ,३ साउन । चौतर्फी दबाब र आलोचना पछि आफ्नो पूर्वनिर्णय सच्याउँदै संसद्को अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

ऐन संशोधनका लागि निर्देशन दिने एक महिनाअघिको आफ्नै निर्णय सच्याउँदै समितिले खारेजीकै प्रस्ताव पारित गरेर सरकारलाई निर्देशन दिएको हो । पछिल्लो पटक गठित कर फर्छ्यौट आयोगले विवादास्पदरुपमा २१ अर्ब रुपैयाँ अनियमित ढंगले छुट दिएको विवरण खुलासा भएपछि अर्थ समितिले बल्ल ऐन खारेज गर्न निर्देशन दिएको हो।

‘कर फर्छ्यौट आयोग ऐन २०३३ तत्काल खारेज गर्ने तथा उक्त ऐन खारेजी प्रक्रिया अघि बढाउन र सोको जानकारी अर्थ समितिलाई दिन नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ । समितिको आइतबारको बैठकले ऐन संशोधन नहुञ्जेल अन्य आयोग गठन नगर्नसमेत सरकारलाई निर्देशन दिएको थियो । याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *