October 22, 2017

गर्मीले तराईको जनजीवन कष्टकर

दिनेश शर्मा / राजविराज, २ साउन । विगत चारदिन देखि बढेको गर्मीका कारण सप्तरी लगायत तराईका जिल्लाहरुको जनजिवन प्रभावित भएको छ ।

विहानै देखि लाग्ने टण्टलापुर घाम चर्किदै जाँदा दिउँसो पख सर्वसाधारणकाे दैनिकी निकै कष्टपुर्ण हुन थालेको छ । दिनभरीको तातो घामले अत्याधि गर्मी वढेपछि घर-पसलवाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासीहरु बताउँछन् । गर्मीका कारण वजारमा मानिसहरुको चहलपहल समेत कम भएको छ ।

एक हप्ता अघिसम्मको अत्याधिक वर्षा र बाढीकाे कहर सकिन नपाउँदै सुरु भएको अत्यधिक गर्मीले मानिसको चहल–पहल समेत घटेको राजविराजका ब्यवसायी वैजु जोशीले बताए ।  गर्मीकै कारण गाउँघरतिर झाडापखला, रुघाखोकी तथा ज्वरोका विरामीहरु ह्वात्तै वढेको स्थानीय स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको ईमर्जेन्सी शाखाका सिनियर अहेव जयकृष्ण गुर्मैताका अनुसार गर्मीका कारण अस्पताल भर्ना हुनेको संख्या तिव्र रुपमा बढेको छ ।

दैनिक १०/१५ जना बिरामी आउने अस्पतालमा गर्मी वढेपछि ४०/५० जनासम्म विरामी आउने गरेको उनले वताए । जिल्लाम भाईरल ज्वरो, रुघाखोकी, झाडा पखाला र सर्पदंश लगायतका विरामी वढेका छन् । यस्तो संख्या अन्य अस्पताल र निजी क्लिनीकमा समेत देखिएको छ ।  घाम तातिदै गएपछि जमिन मुनी वस्ने सर्प जमिन बाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई डस्ने गर्ने क्रम बढेको छ । जमिन बाहिर निस्कीएका विषालु सर्प घर तथा पसलमा पसी ओछ्यान तथा अध्यारो कुनामा बस्ने र मानिसलाई डस्न लेपछि सर्वधारणहरु आतंकीत भएका छन् ।

सर्पको बिगबिगी बढेपछि राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा समेत सर्पदंशका विरामीको संख्या वढेको छ । अस्पतालको आकस्मिक कक्षले दिएको जानकारी अनुसार गर्मी वढेपछि दैनिक आधा दर्जन भन्दा वढि सर्पले टोकेका मानिस अस्पताल भर्ना हुने गरेका छन् । विभिन्न समस्याका कारण विरामीहरु वढदै गएपछि अस्पतालमा वेडको अभाव हुन थालेको अस्पताल प्रशासनले जनाएको जसका कारण एउटै वेडमा २ जनासम्म र भुईमै पनि उपचार गर्नु परेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।