August 17, 2017

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध लेखन तथा वक्तृत्वकलाका विजेताहरु पुरस्कृत

काठमाण्डौ, १३ वैशाख । काठमाण्डौमा रहेको पाकिस्तानी राजदूतावासले यही अप्रिल २५ मा पाकिस्तानी राजदूतावास पाँचौ वार्षिक निबन्ध लेखन तथा प्रथम वार्षिक वक्तृत्वकलाका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका शिक्षामन्त्री धनीराम पौडेलले विजेता नेपाली विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

निबन्ध लेखन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विजेताहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदक र प्रमाणपत्रका साथै पहिलो हुनेलाई रु ३५ हजार, दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २५ हजार नगद प्रदान गरियो । साथै उत्कृष्ट १० मा पर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्रका साथ रु ५–५ हजारका दरले सम्मान गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै वक्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्ने विजेताहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदक र प्रमाणपत्रका साथै पहिलो हुनेलाई रु ३५ हजार, दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २५ हजार र चौथौ हुनेलाई रु १५ हजार नगद प्रदान गरियो ।  साथै उत्कृष्ट १२ मा पर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्रका साथ रु ५–५ हजारका दरले सम्मान गरिएको हाे।

उक्त प्रतियोगितामा उच्च माध्यमिक तह र विश्वविद्यालय तहका गरेर २ सय ५० भन्दा बढि विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।