July 24, 2017

कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ समितिको सरकारलाई निर्देशन

काठमाण्डौ,  २ साउन । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

कर फर्छ्यौट ऐन-०३३ का प्रावधान अन्य कानुनसँग बाझिएको र ऐनमा टेकेर बनेका आयोगका काम संकास्पद देखिएको ठहर गर्दै समितिले सरकारलाई ऐन नै खारेज गर्न निर्देशन दिएको हो । अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेर ऐन खारेज गर्न निर्देशन दिइएको समिति सभापति प्रकाश ज्वालाले बताए । ऐनले कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने लगायतका संविधानसँग बाझिने अधिकारहरु दिएको छ ।कर फर्छ्यौट ऐन २०३३ सालमा बनेको हो ।

त्यतिबेला कै समयमा बनेको कानुन संशोधन नभई अहिलेसम्म कार्यान्वयनमा छ । अर्थ समितिले आयोगले गरेको अनियमित कर मिनाह अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन समितिमा सांसदहरु सुरेन्द्र पाण्डे, जगदिश्वर नरसिंह केसी, गौरा प्रसाइँ, दीकप कुइँकेल, रत्ना शेरचन, शक्ति बस्नेत, शेरबहादुर तामाङ, श्रीकान्ती बासी र श्रीप्रसाद जगेबु सदस्य छन् । यो उपसमितिले २ महिनाभित्रै आयोगमार्फत भएका निर्णयको अध्ययन गरेर अनियमितता भेटिए असुलउपर गर्न सिफारिस गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *