October 24, 2017

एमालेका तीन साँसदले गरे महान्यायधिवक्ताकाे विरोध

काठमाण्डौ, २ साउन ।  दोलखाका तीन सासंदले न्याय दिने निकायमा बसेर न्यायको पक्षमा लड्नुपर्ने मान्छेले नै अन्याय गरेको भन्दै आपत्ती जनाएका छन् ।
महान्याधीवक्ता रमन कुमार श्रेष्ठले न्यायिक प्रक्रिया अगाडि बढाउन छाडेर घटना नै गुपचुप पार्न लागेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर एमाले सांसदहरु पशुपति चौलागाइँ, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले न्यायिक निकायमा बसेर न्यायको लागि काम नभएको जनाएका हुन् ।

पहिलो चरणको स्थानीय तहको चुनावको केही दिन अघि वैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा झडप हुँदा स्थानीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो ।

तामाङको हत्या भएको र हत्यारालाई कारबाही हुनुपर्ने भन्दै स्थानीय बासिन्दा गोरे तामाङले घटनामा संलग्न ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरी दोलखा जिल्ला अदालमा पेश गरेको थियो । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्यामा संलग्नलाई साधारण तारिखमा छाडिदिएका थिए ।
यसरी हत्यामा संलग्न भएकालाई पनि गहिरिएर अनुसन्धान नगरी साधारण तारिखमा छाड्नु गलत भएको भन्दै एमाले सांसदले आपत्ती जनाएका छन् ।
महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले घटनाको फाइल हेर्नुपर्यो भन्दै फाइल ल्याएर आफ्नो दराजमा राखेको तर कुनै पहल नगरेको भन्दै सासंदहरुले विरोध गरेका हुन् ।