September 26, 2017

साउदी अरबमा अलपत्र परेका १२ युवा स्वदेश फर्किए

दिलीप खत्री / खोटाङ, २ साउन । साउदी अरबमा अलपत्र परेका १२ युवा स्वदेश फर्किएका छन् । त्यहाँकाे समी इब्राहिम आबु अल्सामत कन्ट्र्याक्टिङ इस्ट कम्पनीले ४ महिनासम्म तलव, खाने र बस्ने सुविधा समेत नदिदा  अलपत्र परेका १५ जनामध्ये १२ युवा आईतबार राती स्वदेश फर्किएका हुन् ।

मेनपावरसँग गरिएको सम्झौता विपरित रोजगारदाता कम्पनीले अर्कै काममा लगाएको, तलव नदिएको, खानेबस्ने व्यवस्था नमिलाएको पाइएपछि नेपाली दुताबासको शरणमा ३ महिनासम्म बसेका युवा स्वदेश फर्किएका हुन् ।

धन कमाउने सपनामा उल्टै अलपत्र परेर फर्कनेमा उदयपुरका तारा कार्की र काजी कार्की, चितवनका जीवन महतो, कपिल स्याङतान, अशोक लामा र भक्ती चौधरी, झापाका जीतबहादुर थापा र दिपबहादुर थापा, सिन्धुलीका थिरबहादुर थापा, मोरङका सुसन खड्का, रौतहटका बिजुली मुखिया र भक्तपुरका बालहरि परियार रहेको साउदीअरवबाट खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिए ।
१५ जना युवा सेल्समेन र मेकानिकल कामका लागि ७ महिनाअघि मेनपावर कम्पनी एच गल्फ ग्रुपमार्फत साउदीअरब पुगेका हुन् । उनीहरुलाई नेपाल फर्कने टिकट र त्यसक्रममा लाग्ने खाना खर्च स्वयं मेनपावर कम्पनीले तिर्नुपर्ने चर्को दवाव दिइएपछि मेनपावर कम्पनीकै खर्चमा स्वदेश फर्काइएको हो ।
कम्पनी मालिकले तलव दिनुको सट्टा धम्की दिने, हातपात गर्ने समेत गरेको पाईएपछि एनआरएन लगायतका विभिन्न संघसंस्थाको पहलमा अलपत्र युवालाई दुतावाससम्म ल्याइएको थियो । दुतावासको शरणमा ल्याइएका उनीहरुलाई नेपालीद्धारा सञ्चालित संघसंस्थाले खानेवस्ने व्यवस्था मिलाएको राईको भनाई छ ।

कम्पनीले उनीहरुलाई सम्झौता विपरित कपडा धुने, आइरन लगाउने काममा लगाएको थियो । काम गर्ने सिलसिलामा परिचयपत्र समेत नदिई अवैध बनाएर राखेको पीडितको गुनासो छ । अलपत्र परेकामध्ये पर्वतका देवबहादुर राना, महोत्तरीका जोककुमार राई दनुवार र ईलामका प्रेमराज लिम्बूको पनि स्वदेश फिर्ताका लागि प्रकृया अघि बढेको छ । उनीहरु केही समयपछि स्वदेश फर्कने जनाइएको छ ।