July 24, 2017

२४० निर्वाचन क्षेत्र एमालेलाई मान्य नहुने

भक्तपुर, १ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल आयोग बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचन क्षेत्र निर्धारणका लागी आयोग बनाउनुपर्ने भन्दै निर्वाचन क्षेत्र २४० नभएर संविधानअनुसार १६५ बनाउनुपर्नेमा जोड दिएको हो ।

सत्तारुढ दलले २४० निर्वाचन क्षेत्र बनाउने तयारी गरेको भन्दै एमालेलाई कुनै हालतमा मान्य नहुने निर्णय बैठकले गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

संविधान संशोधनमा पनि एमाले अडान यथावत रहेको भन्दै राजपा, संघीय समाजवादी फोरम तथा नेपाल लोकतान्त्रिक फोरमसँग पनि सम्वाद जारी राख्ने निर्णय स्थायी कमिटीले गरेको छ ।

बैठकले ६ वटै प्रदेशमा साउन महिनाभरि प्रशिक्षण कार्यक्रम चलाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । चुनावका कारण रोकिएका जिल्ला तथा प्रवासका अधिवेशन गर्न मातहतका कमिटीलाई बैठकले निर्देशन दिएको भट्टराईले जानकारी दिए ।
बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी पहिलो भएकोमा खुसी व्यक्त गर्दै आगामी असोज दुई गते हुने तेस्रो चरणको निर्वाचनमा पनि पहिलो नै बनाउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । मतदाता नामावली अद्यावधिक कार्यमा सहयोग गर्न पार्टी कार्यकर्तालाई बैठकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *