July 26, 2017

ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर

काठमाण्डौं, १ असार । ललितपुर महानगरपालिकाले ग्वार्को,सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको छ ।

उपत्यकाको ट्राफिक जाम हुने स्थानमध्ये आफ्नो क्षेत्रमा पर्ने ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने ललितपुर महानगरपालिकाले जनाएको छ। शनिबार सम्पन्न प्रथम नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम ल्याउँदै ललितपुर महानगरपालिकाले फ्लाइओभरको योजना अघि सारेको हो। ‘ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिनेछ,’ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘फ्लाइओभर निर्माणका लागि आर्थिक वर्षको सुरुवातदेखि नै काम सुरु गरिनेछ ।

’पछिल्लो समय उपत्यकाको बढ्दो सवारी चापका कारण ट्राफिक जाम बढ्दै गइरहेको छ। उपत्यकाका चोकचोकमा हुने ट्राफिक जामका कारण मानिस गन्तव्यमा पुग्नका लागि धेरै समय कुर्न बाध्य छन् । सागुरा सडक र बाक्लोसवारीसाधनका कारण उपत्यकामा ट्राफिक जाम हुने गरेको छ । तर, २० वर्षपछि निर्वाचित ललितपुर महानगरपालिकाका जनप्रतिनिधिले सुन्दर भविष्यको कल्पना गर्दै तीन स्थानमा फ्लाइओभर निर्माण गर्ने नीति तय गरेका छन् ।

महर्जनले आगामी आर्थिक वर्ष पुल्चोकदेखि बाग्मती पुलसम्मको १ दशमलव ४ किलोमिटरको दूरीमा पनि फ्लाइओभर निर्माणका लागि अध्ययन सुरु गरिने बताए । ललितपुर महानगरपालिकाले काठमाडौं महानगरपालिकासँग समन्वय गरी मोनोरेलसमेत सञ्चालन गर्ने जनाएको छ । काठमाडौं महानगरपालिकाले यसअघि नै ललितपुर महानगरपालिकासँगको समन्वयमा मोनोरेल चलाउने योजना सार्वजनिक गरेको थियो ।

हाल ललितपुर महानगरपालिकाको नगरसभामार्फत मोनोरेल सञ्चालनका लागि समन्वय गर्ने निर्णय गरिएको छ । यसैगरी शंखमूलस्थित बाग्मती नदीकिनारमा भने विद्युतीय शवदाह निर्माण गरिने भएको छ । हाल बाग्मती नदीकिनारस्थित पशुपतिनाथ मन्दिरपरिसरमा विद्युतीय शवदाह सञ्चालन भइरहेको छ। यसैगरी सार्वजनिक शौचालय अभाव रहेकाले ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आङ्खनो क्षेत्रमा मोबाइल शौचालय सुरु गर्ने भएको छ । याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *