राजधानीमै ढलले निल्यो ११ वर्षीया बालिका

काठमाडौं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनु परेको छ ।

फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनु परेको
स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है !’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त हुनुहुन्थ्यो । ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले शनिबार भने , ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन ।

बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन् ।’ उनका अनुसार विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको रहेछ। करिब दुई घन्टापछि विनीतालाई प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उनले छाम्दा नाडी चलिरहेको पाएको सुनाए । त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्‍याएर पानी बान्ता गराएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिदियो। साँझ करिब ७ बजेतिर शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए ।

मृतक बालिकाका बुवा झंकनाथले विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको गुनासो गर्नुभयो। उहाँका अनुसार गत वर्ष स्कुटी बगाउँदा चालक युवतीले जेनतेन ज्यान जोगाएकी थिइन्। सोही ठाउँमा पुनः दुई जना पनि परेर मुस्किलले बाँचेका थिए । बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् ।

पानी पर्दा उक्त सडक पोखरीजस्तो बन्ने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रुले ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । ‘नेपालटार तारकेश्वर नगरपालिकाको मुख्य सहर हो, मुटु हो तर यहाँ तीन वर्षदेखि निर्माण प्रक्रिया यसरी नै लापरवाही ढंगमा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘म त भन्छु जनप्रतिनिधि जनताका सरकार हुन् भने नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षलाई ज्यान मारेको केशसा मुद्दा हाल्नुपर्छ।’ याे खबर अन्नपूर्ण पोस्टमा छ ।