September 25, 2017

११ डीआईजी र १५ एसएसपीको बढुवा, खरेललाई उछिने खनालले

काठमाण्डौ, १ साउन । लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ ।

श्रीलंकाको कोलम्बोमा आठौं सार्क राष्ट्रहरूको गृहमन्त्रीस्तरीय बैठक सकेर शुक्रबारै स्वदेश फर्किएका गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाउन कसरत गरेका थिए । शुक्रबारै राति गृहमा बसेको बढुवा समितिको बैठकले ११ डीआईजीलाई एआईजी र १७ एसएसपीलाई डीआईजी बनाउन सिफारिस गरेको हो । गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा पर्न सफल भएका छन् ।

पूर्ववर्ती सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्चबाट बदर गरिएका डीआईजी जयबहादुर चन्द सिफारिसको दोस्रो नम्बरमा परेका छन्। सरकारसँग मुद्दा खेपिरहेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो नम्बरमा डीआईजी देवेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौंमा केशरीराज घिमिरे, छैटौंमा माधवप्रसाद जोशी, सातौँमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, दसौंमा रणबहादुर चन्द र एघारौंमा विजयकुमार भट्ट छन् । बढुवा समितिका सदस्यसचिव आईजीपी प्रकाश अर्याल हुन् ।

बढुवा सिफारिस भएकामध्ये डीआईजी भण्डारी आफूलाई एक तह माथि पार्न सफल भएका छन्। एसएसपीबाट बढुवा हुँदा चौथो नम्बरमा रहेका बम चन्दलाई उछिन्दै एक नम्बरमा परेका हुन्। एसएसपीबाट बढुवा हुँदा सात नम्बरमा रहेका मधु पुडासैनी भने सिफारिसमा छुटेका छन् । एसएसपीबाट डीआईजीमा दोस्रोपटक बढुवा भएका डीआईजी रणबहादुर चन्द सिफारिसमा परे पनि अर्का डीआईजी हेमन्तबहादुर पाल छुटेका छन् । अब एक साताभित्र चित्त नबुझेका प्रतिस्पर्धी डीआइजीहरूले बढुवा सिफारिसविरुद्ध उजुरबाजुर नगरेमा बढुवा समितिले गृहमन्त्रीमार्फत मन्त्रिपरिषदमा लैजानेछ ।उजुरी परेमा फेरि एक साता बढुवा प्रक्रिया लम्बिनेछ ।

खरेललाई उछिने खनालले

गृहको सिफारिसअनुसार १५ जना एसएसपीमध्ये बढुवा सूचीको एक नम्बरमा परेका खनालले एसएसपीमा हुँदा एक नम्बरमा रहेका रमेश खरेललाई उछिनेका छन् । खरेललाई समितिले दोस्रो नम्बरमा बढुवा सूचीमा राखेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गरेका छन्। जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिनेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाँचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह परेका छन् । याे खबर अन्नपूर्ण पोस्टमा छ ।

बढुवा भएका डीआइजी

वमबहादुर भण्डारी

जयबहादुर चन्द देवेन्द्र

सुवेदी पशुपति उपाध्याय

केशरीराज घिमिरे

माधवप्रसाद जोशी

विजयलाल कायस्थ

कमलसिंह बम

मिङ्मार लामा

रणबहादुर चन्द

विजयकुमार भट्ट

बढुवा भएका एसएसपी

सर्वेन्द्र खनाल

रमेश खरेल

पुष्कर कार्की

उत्तम कार्की

भोगबहादुर थापा

पुस्कल रेग्मी

पवन खरेल

छविलाल जोशी

मनोज न्यौपाने

ज्ञानविक्रम शाह

ठूले राई

शरद चन्द

धिरु बस्नेत

पुष्पचन्द्र रञ्जित

सुरेशविक्रम शाह