मन्त्रीमण्डल भोलीसम्म विस्तार हुने रमेश लेखकको भनाई, संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने अनिल झाको चेतावनी

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लेखकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा केही ढिलाई भएको भएपनि अबको दुईदिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।

उनले केही शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले छलफल हुन नसकेकोले नेताहरु आज साँझ बसेर भोलिसम्म सरकार विस्तार टुँग्याउने बताए ।

उनले सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादी फोरम नेपालसँग कुराकानी भैरहेको बताए । नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाए । उनले भने,‘राजपा निर्वाचनमा आउँछ, असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपा सहभागी हुन्छ ।

अहिले संविधानले प्रदत्त गरेको निर्वाचन क्षेत्र अर्थात १६५ नै हुने समेत बताए । लेखकले भने,‘२४० को हल्ला फैलाइएको छ, यो मान्य हुनेछैन, यो संविधानतः वा राजनीतिक रुपले पनि अनुकुल छैन।  प्रधानमन्त्री देउवाले ४० दिनभित्र महत्वपूर्ण तथा ऐतिहाँसिक कामहरु सम्पन्न गरेको लेखकले दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन अघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधनबारे सोच्न सकिन्छ, अहिले संशोधनबारे कसैलेपनि नसोचे हुन्छ।’ज्ञवालीले आफ्नो पार्टी संशोधनको बाधक नभएको समेत स्पष्ट पारे ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताएका छन् । उनले आफू मन्त्री बन्न लालयित नभएको समेत जिकिर गरेका छन् ।

राजपा नेपालका शीर्ष नेता अनिल झाले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने,‘यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, हाम्रो कुरा क्लियर छ।’

झाले संविधानको मस्यौदा तयार पार्दादेखि नै रिर्जर्भेशन अहिलेसम्मपनि कायमै रहेकोले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने जिकिर गरेका हुन् ।

उनले भने,‘प्रदेश नम्बर दुईको निर्वाचनमा राजपाले भाग नलिने संभावना बढि छ।’उनले एजेण्डा र निर्वाचनमध्ये एक रोज्दा आफूहरुले एजेण्डा रोजेकोले यसअघिका निर्वाचनपनि बहिष्कार गरेको दाबी गरे । उनले भने,‘हामी क्लियर छौं, हामी एजेण्डा छोड्दैनौं।’