October 24, 2017

लमजुङमा अलैंचीको उत्पादन बढे पनि मूल्य घट्दा किसानहरु निराश

सृजना घिमिरे / लमजुङ, वैशाख १३ । लमजुङमा यस वर्ष अलैंची उत्पादन बढे पनि मूल्य घट्दा किसानहरु निराश बनेका छन् । गतवर्ष प्रतिकिलो २ हजार २ सय सम्ममा बिक्री भएको अलैंची यस वर्ष १ हजार १ सयदेखि १ हजार ४ सय सम्ममा मात्र बिक्री भएको हाे ।

अलैंची उत्पादन बढे पनि मूल्य घट्दा किसानले सोचेअनुसारको नाफा पाउन नसक्दा किसानहरु मर्कामा परेको जिल्ला संघका अध्यक्ष अजय तामाङले बताए ।

जिल्लाको ३६ गाविसमा गरिएको अलैंची खेतीबाट यस वर्ष ८ सय २१ क्विन्टल बिक्री भएको कृषि कार्यालयले जनाएको छ । गत वर्ष २८ गाविसमा ६ सय २० क्विन्टल अलैंची उत्पादन भएको थियो । अलैंची बिक्रीबाट गत वर्ष १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका किसानले यो वर्ष १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

जिल्लामा करिब साढे २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार अलैंचीले किसानको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । कृषकलाई प्राविधिक सहयोग, ५० प्रतिशत अनुदानमा बीउ र बेर्ना वितरण, अलैंची सुकाउने उपकरण (भट्टी), हरियो जाली लगायत सहयोग गर्दै आएको अधिकृत अधिकारीले बताए ।

अलैंची प्राविधिकहरूका अनुसार ८ सयदेखि २ हजार १ सय मिटर उचाइको सेपिलो ठाउँमा अलैंची खेती हुन्छ । जिल्लामा रामसाई, गोलसाई, डम्बरसाई, भलाँगे, जिर्मले प्रजातिका अलैंची खेती गरिँदै आइएको छ । अलैंची व्यवसायी संघका अनुसार यहाँ उत्पादन हुने अलैंचीको प्रमुख बजार भारत हो ।