उपत्यकाको ९० प्रतिशत खानेपानी प्रदूषित

काठमाण्डौ,३१ असार । उपत्यकामा वितरण हुँदै आएको १० प्रतिशत खानेपानी मात्रै शुद्ध रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनअनुसार ९० प्रतिशत खानेपानीमा फोहोर मिसिएको छ । विगतका वर्षमा हैजा देखिएका उपत्यकाका केही स्थानलाई आधार बनाएर १३ सय घर धुरीमा अनुसन्धान गरिएको हो। जनस्वास्थ्य कार्यालयका प्रमुख डा. महेन्द्र श्रेष्ठले उपत्यकामा प्रयोग हुने अधिकांश पानीमा कुनै न कुनै किसिमको फोहोर पाइएको बताए ।

‘पछिल्लो समय उपत्यकामा देखिँदै आएको पानीको अभाव र यसलाई आधार बनाएर निजी ट्यांकरले वितरण गर्दै आएको पानी फोहोर पाइयो,’ श्रेष्ठले नयाँ पत्रिकासित भने, ‘पानीमा ६० प्रतिशत त कोलिफम भेटियो ।’ डा. श्रेष्ठका अनुसार प्रतिशतमा राखेर हेर्दा उपत्यकामा १० प्रतिशत खानेपानीमा मात्रै शुद्धता छ । उनले भने, ‘पानीमा प्रतिशत राखेर हेर्नुको औचित्य छैन । उपत्यकामा प्रयोग हुने ९० प्रतिशत खानेपानी पानी प्रदूषित छ ।

दूषित पानी देखिएका स्थान

मंगलबजार, सुन्धारा, ठैब, तार्केश्वर, टेकु, मरु, मनोहरा, पाथिभरा, पाटनको भित्री बस्ती र सुकम्बासी बस्तीहरूमा प्रयोग गरिने पानीमा कोलिफर्म भेटिएको छ ।

कस्तो पानीमा समस्या ?

इनार, धारा, ढुंगेधारा, ट्यांकर, जारको पानी र सिपाटोलमा मूलको पानी दूषित देखिएको छ ।

दूषित पानीबाट लाग्ने रोग

दूषित पानीले झाडापखाला, टाइफाइड, आउँ, हैजा कलेरा, रगतमासी, विभिन्न प्रकारका जुका, हेपाटाइटिस ‘ए’ र ‘ई’ को समस्या देखिन्छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।