दार्जिलिङ महिना दिनदेखि अशान्त, खाद्यान्न स‌ंकट सुरु

दार्जिलिङ ३१ असार । गोर्खाल्याण्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ ।

पछिल्लो पटक गोर्खाल्याण्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो। अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ। सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ। आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन्।

‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको सर्वदलीय संयन्त्र गोर्खाल्याण्ड मुभमेन्ट कोओर्डिनेसन कमिटीका संयोजक कल्याण देवानले भने, ‘जनताले फिर्ता नलिएसम्म हडताल जारी रहनेछ।’ पछिल्लो समय आन्दोलन हिंसात्मक पनि बन्यो। प्रहरी दमनमा ७ जना आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् । आन्दोलनकारीले सरकारी सवारी, सरकारी भवन तोडफोड र आगजनी जारी राखेका छन् । आन्दोलन चर्किएपछि बंगाल सरकारले दार्जिलिङमा अघोषित नाकाबन्दी गरेको छ ।

खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा प्रशासनले प्रत्यक्ष रूपमै बन्देज गरेको छ । ‘बंगालले पूर्ण रूपमा नाकाबन्दी गरेको छ,’ हिमालय दर्पण दैनिकका दार्जिलिङ ‘ब्युरो’ प्रमुख विमल राईले भने, ‘दार्जिलिङमा खाद्यान्न संकट सुरु भइसकेको छ ।’आन्दोलनका कारण यहाँको पर्यटन, चियाजस्ता व्यवसाय धराशायी बनेका छन् । यातायात, स्कुल, व्यापार\व्यवसाय सम्पूर्ण ठप्प छन्।  यस पटकको आन्दोलन जनस्तरबाटै उठेको छ।

‘विगतमा राजनीतिक दलहरूको निर्देशनमा परिचालित हुने जनताले यस पटक दलहरूलाई परिचालन गरिरहेका छन्,’ दार्जिलिङका कवि राजा पुनियानीको टिप्पणी छ, ‘यस पटकको आन्दोलनको धरातल अलि बलियो छ, त्यसैले आन्दोलन उपलब्धिमूलक बन्ने आशा छ ।’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बंगाल सरकारबाट भएको दमनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट छानबिन गर्न माग गरेका छन् । ‘बंगाल सरकारले योजनाबद्ध ढंगले आन्दोलन दबाउने षड्यन्त्र गरेको छ,’ गुरुङले भने, ‘सम्पूर्ण घटनाको सीबीआईले छानबिन गरोस् ।’ सुरक्षाकर्मीले आन्दोलनकारीमाथि धरपकड तीव्र पारेको छ। सर्वसाधारणका घरमा छापा मार्ने र कुटपिट गर्ने क्रम रोकिएको छ।

सुरक्षाकर्मीको ज्यादती रोक्न सिलिगुडीको एक मानव अधिकारवादी संगठनले आह्वान पनि गरेको छ। तर, सरकारले चासो दिएको छैन। तीन साताभन्दा बढी समयदेखि इन्टरनेट सेवा अवरुद्ध छ। आन्दोलनकारीले बिहीबार दार्जिलिङको हिमालयन रेलवेको खरसाङस्थित पुरानो स्टेसनमा आगजनी गरी क्षति गरे। टिस्टास्थित वन विभागको कार्यालय, चौरस्ताको पर्यटन सूचना केन्द्र, पञ्चायत कार्यालयहरू, पुलिस पोस्टहरूमा आगो लगाए।

‘आन्दोलन सुरु भएयता धेरै भौतिक क्षति भइसक्यो दार्जिलिङमा,’ मोर्चाका सहसचिव विनय तामाङले भने, ‘यसको लेखाजोखै छैन ।’ उनले मानवीय एवं भौतिक क्षतिको सम्पूर्ण जिम्मेवारी बंगाल सरकार र मुख्यमन्त्री ममता बेनर्जीले लिनुपर्ने बताए।  यसैबीच, शनिबार थाल्ने भनिएको आमरण अनशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। आसन्न राष्ट्रपति चुनावका कारण अनशन स्थगन गर्नुपरेको गोर्खाल्याण्ड मुभमेण्ट कोओर्डिनेसन कमिटीले जनाएको छ। दार्जिलिङका साहित्यकार, संगीतकर्मी तथा शिक्षासेवीहरूले बंगाल सरकारबाट पाएको पुरस्कार फिर्ता गर्न थालेका छन्। याे खबर कान्तिपुर दैनिकमा छ ।