August 20, 2017

संसदको चौथौ ठूलो दल राप्रपाद्वारा पार्टीको घोषणापत्र जारी

काठमाण्डौ, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ ।

राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा ठूला भनिएका तीन दलले मुलुकलाई संकटमुक्त बनाउन सक्ने वैचारिक र संगठनात्मक हैसियत गुमाइसकेको उल्लेख गर्दै प्रजातन्त्र र लोकतन्त्रका आवरणमा ठूला दलले सिण्डीकेट कायम गरेको आरोप पनि लगाएको छ । त्यस्तै राप्रपाले विजय हासिल गरेको गाउँ र नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने पनि घोषणापत्रमा उल्लेख गरेकाे छ ।

राप्रपाले चुनाव जितेका गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर झुन्डाउने कार्यक्रम घोषणापत्रमा समेटेको छ । नेपालबन्द निषेध गर्ने, एक घर एक रोजगारी सहितका योजनाहरु पनि घोषणा पत्रमा रहेका छन् ।

चुनाव सम्पन्न भएको एक महिनाभित्र आर्थिक अवस्थाको सर्वेक्षण गर्ने र विपन्न परिवारका लागि सुविधाका कार्यक्रमहरु ल्याउने तथा पाँच वर्षभित्र गरीबीको रेखामुनी रहेका परिवारलाई माथि उकास्ने कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छन् ।

हिन्दु धर्मको एजेन्डा बोकेर हिँडेको राप्रपाले धर्म परिवर्तन रोक्ने घोषणा गर्दै गौपालनका लागि सहुलियत ऋण दिने घोषणपत्रमा उल्लेख गरेको छ । विपन्न परिवारलाई सुपोषणाको लागि शिशु जन्मने बित्तिकै ५ हजार उपलब्ध गराउने पनि उल्लेख गरेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पछिल्लाे समय राजनीतिक दलहरु घोषणा पत्र सार्वजनिक गर्न लागि परेका छन् ।