दार्जीलिङमा खाद्यान्न संकट, खाद्यान्न किन्न नेपाली सीमामा

काठमाण्डाै, ३०असार । गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका बासिन्दालाइ खाद्यान्न संकट परेकाे छ ।

त्यहाँ खाद्यान्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन् । पशुपतिनगर बजारको एउटा किराना पसलमा भेटिएका उनीहरुमध्ये दार्जीलिङ नाला गाउँबाट चार घन्टा हिँडेर पशुपतिनगर आएका प्रणेश क्षेत्रीले त्यहाँ खाद्यान्न संकट निकै गहिरिँदै गएको बताए ।

त्यस्तै अर्को पसलमा चामल, दाल लगायत बस्तु खरिद गर्दै गरेका दार्जीलिङ पोख्रेबुङका रतन क्षेत्रीले भने, “धेरै समस्या छ। मान्छेले राम्ररी खान पाएका छैनन् । काम गर्न पाएका छैनन्। सामान पाए पनि महँगो छ। गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल शुक्रबार ३० दिन पुगेको छ ।

आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले खाद्यान्न अभावमा राज्य सरकार नै दोषी भएको आरोप लगाएका छन् । उनले भने, “खाद्यान्न राज्य सरकारले पुलिस लगाएर रोकेको हो ।” तर पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जीले पहाडका जनताले दुःख पाएको भन्दै हड्ताल फिर्ता गरेर वार्तामा आउन यस अघि नै आग्रह गरिसकेकी छन्। आन्दोलनरत मोर्चाले राज्य सरकारको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ।