August 18, 2017

देउवा सरकार स्थानिय निकायकाे अधिकार कटौती गर्न लागेकाे छ : केपी अोली

भक्तपुर, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले स्थानीय तहलाई दिएको अधिकारलाई देउवा सरकारले कटौती गर्दै लगेको आरोप लगाएका छन् ।

स्थानीयतहलाई अधिकार सम्पन्न गराउनका लागि जनप्रतिनिधिहरुले सरकारसँग लडाई गर्नु अवस्था आएको उनले बताए । आज विहान सूर्यबिनायक नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अहिलेको स्थानीय तहले केन्द्र र प्रादेशिक सरकारसँग अधिकार माग्नुपर्ने अवस्था अाउन थालेकाे बताए ।

अाेलीले संविधान निर्माण गर्दा संविधानमै उल्लेखित केन्द्र, प्रादेशिक र स्थानीय तहको अवधारणालाई वर्तमान देउवा सरकारले केन्द्र र प्रादेशिकमा केही नगरी स्थानीय तहमा मात्रै अधिकार कटौती गर्न कानून र विधेयक पारित गर्न लागेको बताउँदै यदि स्थानीय तहको अधिकार कटौती गरिए त्यो एमालेलाई सह्रैय नहुने चेतावनी समेत दिए ।

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै गाउँटोलका साथै नगर र समग्र देशको विकासमा सहयोग पुर्याउने भएकोले सबै राजनीतिक दलहरु मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

परिषद्को उद्घाटनमा सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आर्थिक बर्ष २०७४ /०७५ का लागि कुल ४८ करोड १० लाख २८ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।