इटहरीमा भीषण आगलागी, करिब  साढे ६ करोडकाे नोक्सानी

सुनसरी , ३० असार, । जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजे भएको भीषण आगलागीका कारण करिब  साढे ६ करोडकाे नोक्सानी भएको छ ।

विद्युतको  मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीकाे मार्बल टायल र सेनिटरीका  सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ । कार्कीलकाे टायलको पसलसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत अागलागीका कारण जलेर नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिए ।

पसल र घरमा मानिस नबस्ने र पसल घरको सुरक्षार्थ रहेका कर्मचारी घर बाहिरै रहने गरेकाले आगलागीका कारण मानवीय क्षति भने नभएको बताइएको छ । राधाकृष्ण पेट्रोल पम्पसँगै रहेकाे घरमा लागेको आगोलाई इटहरी, धरान, विराटनगर र इनरुवाबाट आएका बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा अाएकाे मार्बल व्यवसायी युवराज कार्कीले जानकारी दिए ।

आगलागीका कारण भएकाे  क्षतिकाे विषयमा प्रहरीले प्रारम्भिक विवरण लिने कार्य गरिरहेकाले  वास्तविक क्षतिकाे विवरण आउन समय लाग्ने बताइएको छ । आगलागी सावधानीपूर्वक नियन्त्रणमा लिन सकेकाले  सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिन पुगेको प्रहरीको भनाइ रहेको छ ।