नेपालमा वातावरण सहज, अब लगानी बढ्ने अपेक्षा

काठमाण्डौ,३० असार । पछिल्लो समय नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएको छ ।

संविधान निर्माण, संघीयता कार्यान्वयन तथा निजी लगानीप्रति राजनीतिक दलहरूको सकारात्मक प्रतिबद्धताका कारण लगानीकर्ता उत्साही बनेका छन्। पर्यटन, विद्युत् तथा सिमेन्ट उद्योगमा नेपाली र विदेशी दुवै लगानीकर्ताले ठूलो मात्रामा लगानी गरेका छन् । लगानीसम्बन्धी ऐनहरू, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐनलगायत पारित हुनु एवं विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक र श्रम विधेयक पारित हुने चरणमा पुग्नुले पनि लगानीकर्ताको मनोबल बढाएको छ ।

‘त्यति मात्रै होइन, लगानीसम्बन्धी संस्थागत सुधारमा पनि नेपालले धेरै काम गरेको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘लगानी बोर्ड, विशेष आर्थिक क्षेत्र वा उद्योग विभागले आफूकहाँ आएका लगानीकर्ताको अधिकांश काम त्यहीँबाट सम्पन्न गराउन पहल गर्ने गरेका छन् ।’ लगानीको लाभांश फिर्ता लग्ने सम्बन्धमा राष्ट्र बैंकले पनि सहज नीति अख्तियार गर्न थालेको छ । राजनीतिक संक्रमणको अन्त्य देश संघीयतामा गएको छ, आगामी दिनमा प्रदेशले थप लगानीमैत्री वातावरण बनाउने अपेक्षा छ ।

६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। प्रदेश सभा र संघीय चुनाव पनि माघभित्रै गर्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनपछि गठन हुने सरकारविरुद्ध कम्तीमा २ वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । त्यसैले राजनीतिक स्थिरता हुने र लगानीको वातावरण बन्ने अपेक्षा व्यवसायीको छ । लगानीमा राजनीतिक प्रतिबद्धता निजी सम्पत्ति र लगानी राष्ट्रियकरण नगर्ने दलको प्रतिबद्धता संविधानमै उल्लेख गरिएको छ। संसद्का बहुमत दलले स्वदेशी तथा विदेशी लगानीलाई आकर्षण गर्ने र अघि बढाउने प्रतिबद्धता पनि गरेका छन् ।

गत फागुनमा सम्पन्न लगानी सम्मेलनमा तीन प्रमुख दलले मुलुकको आर्थिक विकास र लगानीका सम्बन्धमा सबै दलहरु एकै ठाउँमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए। सो सम्मेलनमा करीब १४ खर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो। डुइङ बिजनेशमा दक्षिण एशियामै राम्रो विश्व बैंकले प्रकाशन गर्ने ‘डुइङ बिजनेस रिपोर्ट २०१७’मा नेपाल दक्षिण एशियामै दोस्रो स्थानमा छ ।

डुइङ बिजनेस प्रतिवेदनले कुनै पनि देशमा व्यवसाय गर्ने वातावरण कस्तो छ भन्ने देखाउँछ। यो प्रतिवेदनको र्यांकिङमा विश्वका १ सय ९० मुलुकमध्येमा नेपालको स्थान १ सय ७ औं छ। दक्षिण एसियाका अन्य देशहरु श्रीलंका (११०), भारत (१३०),माल्दिभ्स (१३५) पाकिस्तान (१४४), बंगलादेश (१७६) र अफगानिस्तान (१८३) नेपालभन्दा पछाडि हो। नेपालभन्दा अगाडि भुटान ७३औँ स्थानमा छ। चीनको स्थान भने ७८औँ छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।