August 19, 2017

स्थानीय तहको संख्या थप्ने निर्णय असंवैधानिक भएकाे भन्दै एमालेद्वारा संसद बैठक अवरुद्ध

काठमाण्डौ, १३ वैशाख । स्थानीय तहको संख्या थप्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्रको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि संसद् बैठक अवरुद्ध गरेकाे छ ।

बैठकको सुरुवातमै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चालाई आश्वस्त पारेर निर्वाचनमा सहभागी सुनिश्चित गर्ने र संविधान कार्यान्वय गर्ने मनसायका साथ सरकारले स्थानीय तहको संख्या थप्न परिपत्र गरेको बताएका थिए ।

थापाको स्पष्टीकरण लगत्तै एमाले सांसद्हरुले जवाफ चित्तबुझ्दो नभएको भन्दै पुनः अवरोध गरे । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचनको मिति घोषणा र उम्मेद्वार समेत चयन भइसकेपछि सरकारले गलत नियतका साथ परिपत्र गरेको भन्दै संवैधानिक रुपमा नै त्रूटिपूर्ण रहेको कदम नसच्याउँदासम्म संसद् बैठक अघि बढ्न नसक्ने बताए ।

व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावलीले प्रतिपक्षले उठाएका सवालको जवाफ सरकारका मन्त्रीले चित्तबुझ्दो रुपमा दिन नसके संसद् अवरोध गर्न पाउने व्यवस्था गरेको छ । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको हाे ।