September 25, 2017

एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई लेखा समितिकाे निर्देशन

काठमाडौं, २९  असार । व्यवस्थापिका संसदको लेखा समितिले एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ । समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको सम्पूर्ण विवरण समितिमा बुझाउन पनि सरकारलाई निर्देशन दिएका छन् । साथै समितिले एनसेलको कर निर्धारण गर्ने निकाय, कर निर्धारण गर्नुपर्ने समय, निर्धारण गरेको कर असुल नगर्ने व्यक्तिको विवरण पनि मागेको छ ।

समितिले सार्वजनिक खर्चमा मितव्ययिता, कार्यदक्षता र पारदर्शीता अपनाई पुँजीगत खर्च बढाउन पनि सरकारलाई पुनः निर्देशन दिएको छ । बैठकमा आन्तरिक राजस्व विभागका सचिव शिशिरकुमार ढुंगानाले आयकर ऐनको व्यवस्था अनुसार कर असुलीको काम भइरहेको बताए । कानुनी प्रक्रिया अनुसार अघि बढ्दा कर असुलीमा ढिलाई भएपनि अब काममा गति दिने उनले बताए ।

बैठकमा समितिका सदस्यहरुले भने कर असुली नगर्ने अधिकारीहरुको विवरण समितिमा पेश गर्न सरकारसँग माग गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले कर असुली गर्न सम्बन्धित निकायका पदाधिकारीहरुलाई जिम्मेवारी बनाउनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।