September 21, 2017

बारा – पर्सा अन्तर्गत हुलाकी राजमार्गको निर्माणमा अनियमितता, स्थानीयवासीले गरे छानविनको माग

उमेश दुबे / राम कुशवाहा / विरगंज २९ असार ।  हुलाकी राजमार्ग अन्तर्गत बारा तथा पर्सा जिल्लामा निर्माण भएका पुलहरुमा अनियमितता भएको छ ।

बाराको तामागढी—सिम्रौणगढ सडक अन्तर्गत नहर क्रसिङ पुल र पर्साको बिरगंज—ठोरी सडकमा पर्ने हरण र भलुवाही पुलमा ठेकेदार र योजना प्रमुखको मिलोमतोमा कमसल काम गरी भ्रष्टाचार भएको भन्दै स्थानियवासीले छानवीनको माग गरेका छन ।

यी दुई पुलको काम सकिएको छैन । पुलको एप्रोच सडक बनेको छैन र नदी नियन्त्रणकालागि तटबन्धनको काम पनि बांकी नै छ । तर योजना प्रमुख, इन्जिनिर र लेखा अधिकृतको मिलोमतोमा  निर्माण कार्य सम्पन्न भएको प्रतिवेदन तयारी गरी फाइनल बिल पास गरिएको स्थानियले थाहा पाएपछि उक्त कार्यको विरोध भएको छ ।

नहर क्रसिङ पुलसंगै तटबन्धन नहुदा पुलसंगको एप्रोच सडक भासिएको स्थानिय राकेश साहले बताएका छन । कमसल काम गरेको थाहा पाएपछि स्थानियवासिन्दाले हुलाकी राजमार्ग योजना कार्यालय वीरगंजका योजना प्रमुख अनुठालाल पटेललाई गुनासो गरेका थिए ।

स्थानिय मनोज यादवले भने ‘ वीरगज—ठोरी सडकमा पर्ने भलुवाही पुलको कार्य भइरहेको बेला नै हामीहरु विरगंज गई एप्रोच सडक र नदी नियन्त्रणको कार्य राम्रोसंग गरिदिनु पर्यो भनी निवेदन दिएका थियौं । तर योजना प्रमुख अनुठालाल पटेलले वास्तै गर्नु भएन ।’

योजना प्रमुख पटेलले सुनवाई नगरेपछि स्थानियवासीहरुले आफै उक्त एप्रोच सडकको मर्मत गरेका छन । गाउँलेहरुले करिब २ लाख ५० हजार रुपैया संकलन गरेर पुलको वारीपारी ( एप्रोच सडक ) माटो फिलिङ गरेर कम्तिमा साइकल, मोटरसाईकलसम्म हिडाउन मिल्ने बाटो बनाएका छन । तर यो अस्थायी उपाए मात्र हो ।

यो सडक र पुल २० गाउँका बासिन्दाले प्रयोग गर्छन । पुल निर्माण, एप्रोच सडक र तटबन्धनके जिम्मा लिएको ठेकेदार अधुरो काम छाडेर हिडेपछि अब बर्षायाममा गाउँलेहरुले दुख पाउने भएका छन ।

त्यस्तै हुलाकी राजमार्ग आयोजना योजना कार्यालय वीरगंज अन्तर्गत निर्माण भइरहेको वीरगंज—ठोरी सडकमा पर्ने हरण र भलुवाही पुलको समेत अवस्था त्यस्तै रहेको छ । वीरगंज—ठोरी सडकमा पर्ने हरण र भलुवाही पुलमा एप्रोच सडकको कामै नगरी ठेकेदार कम्पनी भागेको छ ।

ठेकेदार कम्पनीले हरण पुलको नदी नियन्त्रण कार्य जति हुनु पर्ने त्यति नगरेको, स्लायब ढलानको काम नगरेको र एप्रोच सडकको कामै नगरी काम सम्पन्न भएके भन्दै हिसाव बुझिसकेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय विरगंजबाट थाहा भएको छ ।

हुलाकी राजमार्ग कार्यालयबाट कहिलेपनि ईन्जिनियरहरु काम भइरहेको साइड तिर अनुगमन गर्न नआएको र कार्यसम्पन्न विवरण विरगंजमै तयार गरेको देखिन आएको स्थानिय हृदयन नारायण यादवले बताए ।

ठेकेदार र हुलाकी राजमार्ग कार्यालय बिरगंजको मिलोमतोमा गाउँका सर्वसाधारण हिडने बाटो र पुलको निर्माणमा भएको अनियमितताको छानवीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हालिएको स्थानियवासिन्दाले बताएका छन ।

पुल र सडकको निर्माण पुरा नभई भुक्तानी पुरा लिएको बिषयमा  हुलाकी राजमार्ग आयोजना कार्यालय विरगंजका योजना प्रमुख अनुठालाल पटेल संग प्रतिक्रिया लिन खोज्दा पटेलले भने ‘ यो सरकारी काम हो बोल्न मिल्दैन।’