मतदाता नामावली संकलनमा सहयोग पुर्याउन निर्वाचन अायोगकाे अाग्रह

काठमाण्डौ २८ असार । निर्वाचन आयोगले निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्याउन दलहरुसंग आग्रह गरेको छ ।
बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्याउन आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अभियानकै रुपमा सञ्चालन हुने मतदाता नामावली संकलनमा आफ्ना कार्यकर्ता परिचालन गरी सहयोग पुर्याइदिन सबै दलसँग आग्रह गरेका छन ।

अधिक मतदाताको सहभागिता होस् भन्नाका लागि मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिन लागिएको यादवकाे भनाई छ । आफूले पनि नाम दर्ता गराउने तथा अरुलाई पनि दर्ता गर्न र गल्ती भए सच्याउन प्रेरित गर्न अभियान नै सञ्चालन गर्नुपर्ने उनले बताए ।

दलका प्रतिनिधिले मध्यवर्षामा गरिन लागिएको मतदाता नामावली संकलनका लागि तोकिएको १५ दिनको समयसीमा थोरै भएको जनाउँदै त्यसलाई कम्तीमा एक महिना हुनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ । ।