एमालेलाई कमजोर शक्ति नठान्न अध्यक्ष ओलीको चुनौती

काठमाण्डौ, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर शक्ति नठान्न चुनौती दिएका छन् ।

मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरमा गरेको कार्यक्रममा ओलीले छल, बेइमानी र धोकापूर्ण ढंगले जनता झुक्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका हुन् । राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उनले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने धारणा स्पष्ट पारे ।

ओलीले सरकारले मुलुकको राष्ट्रियतामाथि निकै ठूलो खेलवाड गर्दै चुनाव भाँडिने कुरा अघि सारेर देश टुक्राउने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने काम गरेको दाबी समेत गरे । सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संशाेधन प्रस्तावमाथि ओलीले व्यङग्य समेत गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमूखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले पु‍र्‍याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।