अब मतगणनामा एक जनामात्र प्रतिनिधि

काठमाण्डौ, २८ असार । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी प्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, सङ्ख्या तोकिएको थिएन ।

मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना नसकिँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । याे खबर गोरखापत्र दैनिकमा छ ।